एब्डोमिनल एओर्टिक एन्युरिज्म (AAA) स्क्रिनिङ, 65 वर्ष र यो भन्दा माथिका पुरुषहरूको लागि निःशुल्क परीक्षण (Nepali)
अद्यावधिक गरियो 3 July 2024
1. अवलोकन
यो पुस्तिकामा 65 वर्ष वा यो भन्दा माथिका पुरुषहरूको लागि एब्डोमिनल एओर्टिक एन्युरिज्म स्क्रिनिङ (AAA स्क्रिनिङ पनि भनिन्छ) को बारेमा जानकारी प्रदान गरिएको छ।
यसमा एब्डोमिनल एओर्टिक एन्युरिज्म (AAA) भनेको के हो र तपाईं स्क्रिनिङको लागि जाँदा के के हुन्छ भनेर बताइएको छ। तपाईंले स्क्रिनिङ गराउने वा नगराउने भनेर निर्णय गर्न यसले तपाईंलाई मद्दत गर्छ।
एओर्टिक एन्युरिज्म स्क्रिनिङ जाँच भनेको एउटा सरल निःशुल्क अल्ट्रासाउन्ड स्क्यान हो।
2. हामी कसलाई स्क्रिन गर्छौं
राष्ट्रिय स्वास्थ्य सेवाले सबै पुरुषहरूलाई उनीहरू 65 वर्ष पुगेको वर्षमा स्क्रिनिङको लागि बोलाउँछ।
3. 65 वर्ष भन्दा माथिका पुरुषहरू
पहिले स्क्रिनिङ नगरिएका 65 वर्ष भन्दा माथिका पुरुषहरूले आफ्नो स्थानीय सेवामा सम्पर्क गरेर परीक्षणको व्यवस्था मिलाउन सक्छन्।
4. एब्डोमिनल एओर्टिक एन्युरिज्म
एओर्टा (महाधमनी) भनेको तपाईंको शरीरमा रगत आपूर्ति गर्ने एउटा मुख्य रक्तनली हो। यो तपाईंको मुटुबाट तपाईंको छाती र पेट हुँदै तलतिर गएको हुन्छ।
उमेर बढ्दै जाँदा कतिपय मानिसको पेटमा स्थित महाधमनीको पर्खाल कमजोर हुन सक्छ। त्यसपछि यो फैलिएर एब्डोमिनल एओर्टिक एन्युरिज्मको अवस्था उत्पन्न गराउन सक्छ।
यो अवस्था 65 वर्ष र यो भन्दा माथिका पुरुषहरूमा सबैभन्दा धेरै देखिन्छ।
एब्डोमिनल एओर्टिक एन्युरिज्मको उत्पत्ति।
5. एब्डोमिनल एओर्टिक एन्युरिज्मको सम्भावित जोखिमहरू
ठूला एन्युरिज्महरू कमै हुन्छन् तर अत्यन्त गम्भीर हुन सक्छन्। महाधमनीको पर्खाल फैलिदैँ गएपछि कमजोर हुन्छ र यो फुट्न पनि सक्छ, जसको कारण आन्तरिक रक्तस्राव हुन्छ। एन्युरिज्म फुटेको स्थितिमा 100 मध्ये 85 जना मानिसको मृत्यु हुन्छ।
थोरै मात्र बढेको महाधमनीले खतर गर्दैन। यद्यपि, यदि महाधमनीको आकार 3 सेमी देखि 5.4 सेमी भएमा अझ ठूलो हुँदैछ कि भनेर जाँच गर्दै गर्नु जरुरी हुन्छ।
6. स्क्रिनिङको फाइदाहरू
यदि तपाईंलाई एन्युरिज्म छ भने सामान्यतया कुनै लक्षणहरू देखिँदैन। अर्थात आफूलाई एन्युरिज्म छ भनेर थाहा हुँदैन, कुनै पीडा महसुस हुँदैन र सायद केही फरक पनि थाहा हुँदैन।
एन्युरिज्मको चाँडै पत्ता लगाउन र यसको निगरानी वा उपचार गर्नलाई हामी स्क्रिनिङको प्रस्ताव गर्छौं। यसबाट एन्युरिज्मद्वारा गम्भीर समस्या उत्पन्न हुने सम्भावनामा निकै कमी आउँछ।
तपाईलाई एन्युरिज्म छ कि छैन भनेर पत्ता लगाउने सबभन्दा सहज उपाय भनेको तपाईको पेटको अल्ट्रासाउन्ड स्क्यान गर्नु हो।
स्क्रिनिङ गरिएका 92 मध्ये 1 जना पुरुषमा एब्डोमिनल एओर्टिक एन्युरिज्म हुन्छ।
7. जोखिम कारकहरू
पुरुषमा एब्डोमिनल एओर्टिक एन्युरिज्म हुने सम्भावना महिलाको तुलनामा 6 गुणा बढी रहन्छ, त्यसैले महिलालाई स्क्रिनिङको प्रस्ताव गरिँदैन। एन्युरिज्म हुने सम्भावना उमेर अनुसार बढ्दै जान्छ।
निम्न कारणले पनि तपाईको एब्डोमिनल एओर्टिक एन्युरिज्म हुने सम्भावना बढ्न सक्छ:
- तपाईं धुम्रपान गर्नुहुन्छ वा कहिल्यै गर्नुहुन्थ्यो भने
-
तपाईलाई उच्च रक्तचाप छ भने
- तपाईंको भाइ, बहिनी वा आमाबाबुलाई एब्डोमिनल एओर्टिक एन्युरिज्म छ, वा भएको थियो भने
8. एब्डोमिनल एओर्टिक एन्युरिज्म स्क्रिनिङ परीक्षण
हामी गर्भवती महिलाहरूमा प्रयोग गर्ने जस्तै सरल अल्ट्रासाउन्ड स्क्यानको प्रयोग गर्छौं। यो निकै चाँडो हुन्छ र सामान्यतया 10 मिनेटमा पूरा हुन्छ।
क्लिनिकमा हामी तपाईंको व्यक्तिगत विवरणहरूको जाँच गर्नेछौं, स्क्यानबारे बताउँछौं र तपाईंलाई प्रश्न सोध्ने अवसर दिन्छौँ।
हामी तपाईंलाई सुत्न लगाउँछौं र आफ्नो शर्टलाई माथि तान्न वा बटन खोल्न लगाउँछौं। तपाईंले लुगा खोल्नु पर्दैन। हामी तपाईको पेटमा एउटा चिसो जेल लगाउँछौं।
त्यसपछि हामी तपाईंको छालामाथि स्क्यानिङ सेन्सरलाई यताउता सार्छौं। स्क्यान गर्दा स्क्रिनमा महाधमनीको चित्र देखिन्छ र हामी यसको माप लिन्छौं।
हामी तपाईंलाई परीक्षणको परिणाम तुरुन्तै बताउँछौं र तपाईंको जेनरल प्र्याक्टिश्नरलाई पनि यसको एउटा प्रतिलिपि पठाउँछौं।
9. स्क्रिनिङका सम्भावित परिणामहरू
स्क्रिनिङका 4 वटा सम्भावित परिणामहरू आउँछन्:
-
एन्युरिज्म देखिएन
-
सानो एन्युरिज्म छ
-
मध्यम एन्युरिज्म छ
-
ठूलो एन्युरिज्म छ
9.1 कुनै एन्युरिज्म फेला परेन
यदि तपाईंको महाधमनीको चौडाई 3 सेमी भन्दा कम छ भने, तपाईंको एन्युरिज्म छैन भन्ने बुझिन्छ। धेरैजसो पुरुषहरूमा यही परिणाम आउँछ। यसपछि कुनै उपचार वा निगरानी गर्नु पर्दैन। हामी तपाईंलाई एब्डोमिनल एओर्टिक एन्युरिज्म स्क्रिनिङको लागि फेरि बोलाउने छैनौं।
9.2 सानो एन्युरिज्म
यदि तपाईंको महाधमनीको चौडाई 3 सेमी देखि 4.4 सेमी छ भने, तपाईंलाई सानो एन्युरिज्म छ भन्ने बुझिन्छ। ठूलो हुँदैछ कि भनेर जाँच्न हामी सानो एन्युरिज्म भएका पुरुषहरूलाई हरेक 12 महिनामा स्क्यान गर्न बोलाउँछौं।
9.3 मध्यम एन्युरिज्म
यदि तपाईंको महाधमनीको चौडाई 4.5 सेमी देखि 5.4 सेमी छ भने, तपाईंलाई मध्यम एन्युरिज्म छ भन्न बुझिन्छ। ठूलो हुँदैछ कि भनेर जाँच्न हामी मध्यम एन्युरिज्म भएका पुरुषहरूलाई प्रत्येक 3 महिनामा स्क्यान गर्न बोलाउँछौं।
9.4 ठूलो एन्युरिज्म
यदि तपाईंको महाधमनीको चौडाई 5.5 सेमी वा ठूलो छ भने, तपाईंलाई ठूलो एन्युरिज्म छ भन्ने बुझिन्छ। स्क्रिनिङ गरिने 1,000 मध्ये 1 जना पुरुषमा मात्र ठूलो एन्युरिज्म भएको हुन्छ। ठूलो एन्युरिज्म भएका पुरुषहरूलाई थप स्क्यानहरू गरेर सम्भावित उपचार, प्राय शल्यक्रियाको बारेमा छलफल गर्नका लागि हामी विशेषज्ञ टोलीसँग भेट्ने एपोइन्टमेन्ट दिन्छौं।
10. सानो वा मध्यम एन्युरिज्मको निगरानी
यदि तपाईलाई सानो वा मध्यम एन्युरिज्म छ भने हाल उपचारको आवश्यकता पर्दैन। यद्यपि, एन्युरिज्मको आकारको निगरानी गर्नु जरुरी हुन्छ किनभने आकारमा वृद्धि भएमा उपचार आवश्यक पर्न सक्छ। धेरैजसो एन्युरिज्म ढिलो गतिमा बढ्छ, त्यसैकारण सानो वा मध्यम एन्युरिज्म भएका धेरैजना पुरुषहरूलाई उपचारको आवश्यकता नै पर्दैन।
यदि तपाईंको एन्युरिज्म सानो छ भने प्रत्येक वर्षमा वा मध्यम छ भने प्रत्येक 3 महिनामा हामी तपाईंलाई स्क्यान गर्न बोलाउँछौं।
हामी तपाईंलाई एन्युरिज्मको आकार बढ्ने सम्भावनालाई कम गर्ने बारे सल्लाह दिनेछौं। तपाईंको जेनरल प्र्याक्टिश्नरले तपाईंलाई ट्याब्लेटहरू दिन सक्छन् वा तपाईंको हालको औषधिहरूको समीक्षा गर्न सक्छन्। उनीहरूले तपाईंको रक्तचाप पनि जाँच गर्न सक्छन्।
11. ठूलो एन्युरिज्मको उपचार
यदि ठूलो एन्युरिज्म देखिएमा, हामी तपाईंलाई विशेषज्ञ टोलीसँग भेट्न पठाउनेछौं। उनीहरूले अन्य केही परीक्षणहरू गर्नेछन् र एकजना विशेषज्ञले तपाईंसँग सम्भावित उपचारबारे छलफल गर्नेछन्। यसमा सामान्यतया शल्यक्रिया गरिन्छ, यदि तपाईंले गराउने विचार गर्नुभयो भने सामान्यतया केही हप्ता भित्रै गरिन्छ।
ठूलो एब्डोमिनल एओर्टिक एन्युरिज्मको उपचार नगरिएको अवस्थामा, तपाईंले सवारी चलाउन बन्द गर्नु पर्ने हुन सक्छ र स्वास्थ्य-सम्बन्धित बीमा, जस्तै यात्रा बीमा हेर्न आवश्यक पर्न सक्छ।
स्क्रिनिङद्वारा भेटिएका एन्युरिज्महरूको उपचार प्राय धेरै प्रभावकारी हुन्छ। उपचारका केही जोखिमहरू हुन्छन् जसबारे विशेषज्ञले राम्ररी बताउनेछन्।
ठूला एन्युरिज्म हुने सबैको शल्यक्रिया हुँदैन।
12. स्क्रिनिङका जोखिमहरू
स्क्यान स्वयमको कुनै जोखिम छैन।
यद्यपि, जाँच गरिने प्रत्येक 10,000 पुरुषमध्ये 41 जनालाई अन्ततः एन्युरिज्मको उपचारका लागि शल्यक्रिया गर्नु पर्ने हुन्छ। औसतमा, उक्त 41 पुरुषहरू मध्ये 1 जना शल्यक्रिया गरेपछि बाँच्दैनन् र उपचार नगरिएको भएपनि उनीहरूको एन्युरिज्म कहिल्यै फुट्ने थिएन।
स्क्रिनिङले एन्युरिज्म फुट्ने जोखिमलाई सम्पूर्ण रुपमा हटाउँदैन तर यो अवस्था विरुद्ध सुरक्षाको यो नै सर्वोत्तम उपाय हो।
13. अन्य स्वास्थ्य अवस्थाहरू
स्क्रिनिङ भनेको तपाईलाई एब्डोमिनल एओर्टिक एन्युरिज्म छ कि छैन भनेर हेर्नको लागि मात्र हो। यसबाट अन्य अवस्थाहरूबारे पत्ता लगाइँदैन। यदि तपाईं कुनै स्वास्थ्य समस्याको बारेमा चिन्तित हुनुहुन्छ भने तपाईंले आफ्नो जेनरल प्र्याक्टिश्नरसँग कुरा गर्नुपर्छ।
14. स्क्रिनिङ परीक्षणको सटीकता
एन्युरिज्मको पत्ता लगाउन प्रयोग गरिने स्क्यान धेरै भरपर्दो हुन्छ। कुनैपनि स्क्रिनिङ परीक्षण पूर्णतया प्रभावकारी हुन सक्दैन तर स्क्रिनिङबाट कुनै एन्युरिज्म नभेटिएमा मानिसलाई ठूलो एन्युरिज्म हुने सम्भावना निकै कम हुन्छ।
कहिलेकाहीँ स्क्यान गर्ने व्यक्तिले स्पष्ट रूपमा महाधमनी देख्न सक्दैन। यसमा चिन्ता गर्नु पर्दैन र उनीहरूले, सामान्यतया अर्को कुनै दिनमा अर्को स्क्यान गर्न लगाउँछन्।
15. गोपनीयता
राष्ट्रिय स्वास्थ्य सेवा स्क्रिनिङ कार्यक्रमले तपाईंलाई सही समयमा स्क्रिनिङको लागि बोलाउन तपाईंको राष्ट्रिय स्वास्थ्य सेवा अभिलेखबाट व्यक्तिगत जानकारी प्रयोग गर्दछ। राष्ट्रिय स्वास्थ्य सेवा इङ्गल्याण्डले पनि तपाईंले उच्च गुणस्तरको सेवा प्राप्त गर्ने सुनिश्चित गर्न र स्क्रिनिङ कार्यक्रमहरूमा सुधार गर्नका लागि तपाईंको जानकारीको प्रयोग गर्दछ। तपाईँको जानकारीको कसरी प्रयोग र सुरक्षा गरिन्छ, र तपाईँका विकल्पहरू बारे थप जान्नुहोस्।
16. थप जानकारी
यदि तपाईंलाई स्क्रिनिङको लागि बोलाईएको छ भने, तपाईंको स्थानीय स्क्रिनिङ सेवाको फोन नम्बर तपाईंको एपोइन्टमेन्ट पत्रमा दिइएको छ।
तपाईंको स्थानीय एब्डोमिनल एओर्टिक एन्युरिज्म स्क्रिनिङ सेवाको सम्पर्क विवरणहरू फेला पार्नुहोस्।
सर्क्युलेसन फाउन्डेसन ब्रिटिस हार्ट फाउन्डेसन ले एब्डोमिनल एओर्टिक एन्युरिज्म लगायत भास्कुलर डिजिज भनेर जानिने नसा र धमनी सम्बन्धी रोगहरू भएका मानिसहरूलाई सहयोग गर्दछ।
तपाईले आफ्नो जेनरल प्र्याक्टिश्नरसँग पनि कुरा गर्न सक्नुहुन्छ।
कसरी स्क्रिनिङबाट बाहिर निस्कने भनेर जान्नुहोस्।