मधुमेह सम्बन्धित आँखा परीक्षण सम्बन्धी तपाईंको मार्गदर्शिका (Nepali)
अद्यावधिक गरियो 9 जनवरी 2025
Applies to England
मधुमेह सम्बन्धित आँखा परीक्षणमा भाग लिनु वा नलिनु भनेर तपाईं आफैँ रोज्न सक्नुहुन्छ। यो पर्चाको उद्देश्य तपाईंलाई निर्णय गर्न सहायता गर्नु हो।
1. राष्ट्रिय स्वास्थ्य सेवाले किन मधुमेह सम्बन्धित आँखा परीक्षण उपलब्ध गराउँछ
मधुमेह सम्बन्धित आँखा परीक्षण भनेको मधुमेहमा तपाईंको हेरचाहको एक महत्वपूर्ण भाग हो। हामी स्क्रिनिङ उपलब्ध गराउछौं किनभने यसले आँखाको दृष्टि जोगाउन मद्दत गर्दछ।
मधुमेह भएपछि, डायबेटिक रेटिनोप्याथी नामक स्थितिको कारण तपाईंको आँखालाई क्षति पुग्ने जोखिम रहन्छ। तपाईंको दृष्टिमा कुनैपनि हेरफेर हुनु अघि नै स्क्रिनिङद्वारा रेटिनोप्याथी भएको पत्ता लाग्न सक्छ।
मधुमेह सम्बन्धित आँखा परीक्षण आँखा विशेषज्ञले गर्ने सामान्य आँखा परीक्षण अन्तर्गत हुँदैन। यो स्क्रिनिङद्वारा आँखाका अन्य समस्याहरू पत्ता लगाइँदैन। तपाईंले नियमित आँखा परीक्षणको लागि आफ्नो आँखा चिकित्सकलाई पनि देखाउँदै गर्नुपर्छ।
डिजिटल फोटोग्राफीको प्रयोगद्वारा मधुमेह सम्बन्धित आँखा परीक्षण
2. डायबेटिक रेटिनोप्याथी
रगतमा ग्लुकोजको मात्रा बढेर आँखाको पछाडिको भागमा क्षति पुग्दा डायबेटिक रेटिनोप्याथी हुन्छ। यसको कारण रेटिनामा रक्त नलीहरू चुहुने हुन सक्छन् वा अवरूद्ध उत्पन्न हुन सक्छ।
डायबेटिक रेटिनोप्याथीको उपचार नभएमा यसबाट आँखाको दृष्टि हराउन सक्छ। सुरूमै यसको पत्ता लाग्न सकेमा, उपचार गरेर दृष्टिको खराबीलाई कम गर्न वा रोक्न सकिन्छ।
तपाईंको आँखामा मधुमेहले कसरी असर पार्न सक्छ भनेर थप जानकारी NHS.UK मा पढ्नुहोस्।
3. हामी मधुमेह सम्बन्धित आँखा परीक्षण कसरी गर्छौं
परीक्षण पूर्व आँखामा औषधि हाल्दै
- हामी तपाईंलाई चार्टमा भएका केही अक्षरहरू पढ्न लगाउनेछौं।
- हामी तपाईंको आँखामा औषधि हाल्नेछौं। यसले गर्दा एकैक्षण बिजाउन सक्छ र आँखा धमिलो हुन सक्छ।
- औषधिले काम गर्न थालेपछि, तपाईंलाई एउटा क्यामेरामा हेर्न लगाइने छ। क्यामेराले तपाईंको आँखामा छुँदैन।
- क्यामेरामा तपाईंको आँखाको पछाडिको भागको तस्बिरहरू खिचिने छ। एउटा उज्यालो फ्ल्याश हुनेछ।
सामान्यतया एपोइन्टमेन्टमा 30 मिनेटको समय लाग्नेछ।
4. कुन बेला हामी तपाईंलाई मधुमेह सम्बन्धित आँखा परीक्षणको लागि बोलाउँछौं
मधुमेह भएका 12 वर्ष र सो भन्दा बढी उमेरका सबैलाई हामी मधुमेह सम्बन्धित आँखा परीक्षणको लागि बोलाउँछौं।
तपाईंलाई कति पटक बोलाईन्छ भन्ने कुरा तपाईंको पछिल्लो 2 वटा स्क्रिनिङको परिणाममा भर पर्छ। यदि डायबेटिक रेटिनोप्याथी फेला परेन भने हामी तपाईंलाई प्रत्येक 1 वा 2 वर्षमा स्क्रिनिङको लागि बोलाउनेछौं।
5. मधुमेह सम्बन्धित आँखा परीक्षण गर्दा हुने सम्भावित जोखिमहरू
कुनैपनि स्क्रिनिङ परीक्षण 100% भरपर्दो हुँदैन।
आँखाको औषधिले एकैक्षण बिजाउन सक्छ, तर स्क्रिनिङ गर्दा दुख्दैन र उपकरणले तपाईंको आँखामा छुँदैन।
परीक्षण गरेपछि 6 घण्टा सम्म:
- तपाईंको आँखा धमिलो हुन सक्छ - सामान्य नहुन्जेल सम्म सवारी नचलाउनुहोस्
- सबैकुरा बढी उज्यालो देखिन सक्छ – घामको चश्मा लगाएमा सजिलो हुन सक्छ।
6. मधुमेह सम्बन्धित आँखा परीक्षणको परिणामहरू
स्क्रिनिङ गरेपछि एकजना चिकित्सकीय विशेषज्ञले तपाईंको आँखाको तस्बिरहरूको जाँच गर्दछन्।
हामी तपाईंको परिणाम 3 हप्ता भित्र तपाईंलाई र तपाईंको GP लाई पठाउने कोसिस गर्छौं।
यदि परिणाममा केही स्पष्ट पाएनौं भने, हामी तपाईंलाई अर्को पटक जाँच गर्नका लागि बोलाउन सक्छौं।
मधुमेहको कारण आँखाको पछाडिको भागमा हुने परिवर्तनमा 3 प्रकारका परिणामहरू आउँछन्:
- केही परिवर्तन छैन - यसलाई डायबेटिक रेटिनोप्याथी नभएको भनिन्छ
- आँखामा कुनै कुनै परिवर्तनहरू - यसलाई ब्याकग्राउन्ड रेटिनोप्याथी (चरण 1) भनिन्छ
- दृष्टिमा असर पार्न सक्ने आँखाको क्षति - यसलाई रेफरेबल रेटिनोप्याथी भनिन्छ। तपाईंलाई प्रि-प्रोलिफरेटिभ रेटिनोप्याथी (चरण 2) वा प्रोलिफरेटिभ रेटिनोप्याथी (चरण 3) भएको हुन सक्छ। तपाईंको परिणाममा यसबारे अझ विस्तृत वर्णन गरिएको हुनेछ।
तपाईंको परिणामको आधारमा तपाईंलाई फोलो अप एपोइन्टमेन्ट पनि चाहिन सक्छ। तपाईंलाई उपचारको आवश्यकता पर्छ वा पर्दैन वा अलिक धेरै पटक जाँच गर्नु पर्ने हो कि भनेर फोलो अप गरिन्छ। हामी अर्को भिन्नै खाले क्यामेराको प्रयोग गरेर तपाईंको आँखाको अझ राम्ररी जाँच गर्न सक्छौं। कहिलेकाहीँ यसलाई अप्टिकल कोहरेन्स टोमोग्राफी (OCT स्क्यान) भनिन्छ।
7. त्यस दिनका लागि व्यावहारिक सुझावहरू
तपाईंको चश्मा र कन्ट्याक्ट लेन्सहरू सबै ल्याउनुहोस् र कन्ट्याक्ट लेन्सको सल्युसन पनि ल्याउनुहोस्।
औषधि हालेपछि आँखा संवेदनशील हुन सक्ने भएकोले घामको चश्मा ल्याउनुहोस्।
एपोइन्टमेन्टको बेला सहायताका लागि आफूसँग कसैलाई साथमा ल्याउने विचार गर्न सक्नुहुन्छ। तपाईंले सामान्य रुपमा आँखा देख्ने नभएसम्म सवारी चलाउनु हुँदैन, जसमा 6 घण्टा सम्म समय लाग्न सक्छ।
8. आफ्नो जोखिम कसरी कम गर्ने
निम्न कुराहरू गरेर तपाईंले आफ्नो जोखिम कम गर्न सक्नुहुन्छ:
- आफ्नो रगतमा ग्लुकोजको मात्रालाई सकेसम्म राम्ररी नियन्त्रण गरेर
- आफ्नो रक्तचापको जाँच गर्न चिकित्सकलाई नियमित देखाएर
- मधुमेह सम्बन्धित आँखा परीक्षण गर्ने सबै एपोइन्टमेन्टहरूमा गएर
- यदि दृष्टिमा कुनै हेरफेर भएमा चिकित्सकको सल्लाह लिएर
- आफ्नो मधुमेहको औषधि चिकित्सकले भने अनुसार लिएर
- चिकित्सकीय सुझावको पालन गर्दै नियमित व्यायाम गरेर।
9. थप जानकारी र सहयोग
तपाईंले अब के गर्नु पर्छ भनेर जान्नको लागि स्क्रिनिङ गाइड पढ्नुहोस्।
तपाईंले निम्न अनुसार पनि गर्न सक्नुहुन्छ:
- मधुमेह सम्बन्धित आँखा परीक्षणबारे थप जानकारी nhs.uk मा गएर पढ्न सक्नुहुन्छ
- तपाईंलाई नियमित अनुगमन वा उपचारको आवश्यकता परेमा हाम्रो डायबेटिक रेटिनोप्याथीबारे पर्चा पढ्न सक्नुहुन्छ
- डायबेटिक रेटिनोप्याथी र यसका लागि उपलब्ध सहयोगबारे थप जानकारी डायबेटिज युकेमा हेर्नुहोस्।
यो जानकारी सहज पठन तथा अन्य भाषाहरू लगायतका वैकल्पिक स्वरूपहरूमा पनि उपलब्ध हुन्छन्। कुनै वैकल्पिक स्वरूपमा अनुरोध गर्न, 0300 311 22 33 मा फोन गर्न सक्नुहुन्छ वा england.contactus@nhs.net मा इमेल गर्न सक्नुहुन्छ।
तपाईंलाई सही समयमा परीक्षणको लागि बोलाउन हामी तपाईंको राष्ट्रिय स्वास्थ्य सेवा अभिलेखबाट व्यक्तिगत जानकारी प्रयोग गर्दछौं। स्क्रिनिङ कार्यक्रमहरूमा सुधार गर्न र गुणस्तरीय सेवा प्रदान गर्न यो जानकारीले हामीलाई सहयोग गर्छ। हामीले तपाईंको जानकारीलाई कसरी प्रयोग गर्छौं र सुरक्षित राख्छौं भन्ने बारे थप जानकारी पढ्नुहोस्।
स्क्रिनिङबाट कसरी बाहिर निस्कने यसबारे जानकारी पाउनुहोस्।